अहिले निकै चलन चल्तीको चुनावी नारा बनेको छ हाम्रालाई होइन राम्रालाई भोट दिऔं । नारा आफैंमा सारै सुन्दर छ तर नेताहरुको भिडमा साच्चै नै राम्रा नेता छान्नु कम्ता गाह्रो छैन । २०४६ साल पछि भएका विभिन्न चुनावहरुमा हामीले धेरै नेता छान्यौं । कहिले आफ्नो राजनैतिक आस्थाका आधारमा हाम्रा मान्छेलाई छान्यौं त कहिले मन परेका र आशलाग्दा राम्रा उम्मेद्वारलाई विजयी बनाउन सघायौं । कहिले कुनै पनि नेता मन नपरेर विरक्त लागेर कसैलाई भोट नहाली नेता छान्ने जिम्मा अरुलाई नै दियौं । चुनाव पछि राम्राले पनि गर्छु भनेका काम गरेनन् हाम्राले पनि गरेनन् । गरे त आफ्नै नातागोता इष्टमित्रका लागि गरे अनि आफ्नै लागि गरे । कति नेताले त मौकै पनि पाएनन् । अनि उनीहरुले केहि गरेनन् भनेर हामी पहिले पहिले चिया पसलमा र आजकल फेसबुक र ट्विटरका भित्ताहरुमा गाली लेख्न थाल्यौं, उपहास गर्न थाल्यौं । कहिले कसैलाई उखान टुक्का मात्रै भन्न जानेको छ भनेका छौं त कसैले सामान्य नागरिकले सोधेका प्रश्नको जवाफ समेत नदिई झर्किन जानेको छ भनि खिल्ली उडाएका छौं । कसैलाई आफ्ना सन्तान मोहले ढपक्कै ढाकेर जोसँग पनि तालमेल गरेको छ भनेका छौं त कसैले आफ्नो नागरिकता बनाएर पिताको बनाईदिएको भनेर घोचपेच गरेका छौं । यस्तै यस्तै नानाथरिका आरोप प्रत्यारोप र गाली गलौजमा आफ्नो समय र श्रम फालेका छौं । अहिले पनि कसैले अबको प्रधानमन्त्रि मै हुँ भनि भोट मागेका छन् त कोही अब दुई तिहाइ मत ल्याएर देश चलाउने हामी नै हो भनेका छन् । विकासका लागि म अनि हाम्रो पार्टी नै चाहिन्छ अरु त सबै भ्रष्ट हुन् भनेर घरदैलो र मिडियाबाजी गर्ने पनि प्रशस्तै भेटिन्छन् ।
यो लेख पढ्न सक्ने तपाईँ हामी
भनेको देशको शिक्षित व्यक्तित्व हौं जसले आफ्नो हैसियत र क्षमता अनुसार अध्ययन र उद्यम
गरेका छौं । हुन त हाम्रो देशको साक्षरतामा त पनि उल्लेख्य सुधार भएको छ । २०४६ साल
अघि ४० प्रतिशत भन्दा कम साक्षरताको अवस्थाबाट अहिले झण्डै ६६ प्रतिशत (२०६८ साल) पुगिसक्यो
। हामी शिक्षित त भयौं तर अझै पर्याप्त सचेत हुन सकेका छैनौं । सचेत नभएकाहरुलाई सजग
गराउन सकेका छैनौं ।
मेरो घर गोरखा २ नं. निर्वाचन
क्षेत्र । आगामी निर्वाचनको एक हटस्पट । त्यहा पनि राम्रालाई छान्ने कि हाम्रालाई छान्ने
? यो राम्रो कि त्यो राम्रो ?
भन्नेमै अन्यौल छ
। एकातिर नेकपा एमालेसँग गठबन्धन गरी उम्मेदवार बनेका माओवादी केन्द्रका उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ छन् त अर्काैतिर नेपाली काँग्रेसको समर्थनमा पूर्व प्रधानमन्त्रि
डा. बाबुराम भट्टराई छन् । वास्तवमा दुबै उम्मेदवार व्यक्तित्वका हिसाबले अब्बल छन्
राम्रा छन् । एउटाले जित्दा संसदमा अर्को नेताको
अनुपस्थितिको खल्लोपना महसुस हुने चिन्तन राष्ट्रियस्तरका बौद्धिक जमातबाट पनि गरेको
देखिन्छ । पछिल्लो समयमा यी दुबै नेताहरु क्षेत्रगत
विकासमा कम र आफ्नो व्यक्तिगत राजनैतिक स्वार्थमा बढि केन्द्रित भएकोले विकासको अनुभूति
गर्न नपाएको गोरखावासीहरुको गुनासो पनि सुनिन्छ ।
वास्तवमा गोरखाका जनतालाई
अहिले कुनै जादु चाहिएको नै छैन । गोरखा अनि बाबुराम कि नारायणकाजी भनेको त प्रतिकात्मक
मात्र हुन् अन्य जिल्लाको अवस्था पनि यो भन्दा भिन्न पक्कै छैन । यहाँ नेताले भ्रष्टचार
नगरिदिए अनि विकासका योजनाहरुलाई इमान्दारी नेतृत्व दिए पुग्छ । विकासका बजेट त खर्च हुन नसकि हरेक बर्ष फ्रिज भएर गएकाछन् । खर्च भएका धेरै कामहरु कम गुणस्तरीय बनेकाछन्
। त्यसैले विकासका लागि बाबुराम वा नारायणकाजी नै चाहिन्छ र ?
यहिँ नेर हो हामी सचेत नागरिकले
आफ्नो जिम्मेवारी निभाउनु पर्ने किनकि छिमेकी राष्ट्रहरु संसारकै बलियो अर्थतन्त्र बनाउने होडमा
कुद्न थाल्दा पनि हामी चैं अझैं पनि सामान्य जिवनयापनको लागि संघर्षरत छौं । चुनाव त्यस्तो मौका हो जहाँ हामीले नेता चुन्ने
हो र नेताले आफ्नो बुद्धि, विवेक, क्षमता अनि नियतले विकासको
साथै आगामी ४ बर्षसम्म हाम्रो आस्था, आशा र भरोसाको नेतृत्व गर्ने हो । हाम्रा नेताहरुले बाटो बिराए
भने उनीहरुलाई झक्झकाउने कर्तव्य पनि हाम्रै हो । जनताले भनेको नसुन्ने अनि आफैले प्रतिवद्धता
गरेका वाचाहरु पुरा नगर्ने नेतालाई पटक पटक मौका दिइरहन्छौं भने चाहिँ गल्ति हाम्रै
हो ।
हामी सोझा भएका वा बेमतलबी
भएका जनतालाई जबसम्म झुलाउन, भुलाउन, झुक्याउन पाइन्छ तबसम्म नेताहरु
हामीलाई राज गरिरहन्छन् । तर के हामी विवेकशुन्य प्राणी हौ? हाम्रो आफ्नो मूल्याङ्कन क्षमता
छैन ? खराब आचरण र नियत
भएकालाई चुनेर गल्ती हामी आफैं गर्ने अनि दोष पनि उनीहरुलाई नै ? के भनेर भोट मागेको अनि अहिले
त्यो किन पुरा नगरेको भनेर हामीले कहिल्यै सोध्याँै ? बरु “ह्या म एउटाले भनेर के
हुन्छ र?” भनेर हामी धेरै पटक
र धेरै जना चुप लाग्यौं अथवा भनौं जिम्मेवारीबाट पन्छियौं । भोट दिदैंमा वा नेता चुन्दैमा
हाम्रो जिम्मेवारी सकिदैन । भोट दिएपछि त बल्ल हाम्रो जिम्मेवारी शुरु हुन्छ, त्यसैले त भोट गर्नलाई पनि
बालिग हुनुपरेको, १८ बर्ष पुग्नु परेको, जति बेला हामी आफैं आफ्ना
भलाई सोच्न सक्ने भएका हुन्छौं ।
विभिन्न देश घुमें, विभिन्न देशका मान्छेहरुसँग
घुलमिल भएँ जहाँ गए पनि एउटा प्रश्न त सोधिहाल्छन् “ह्वेर आर यु फ्रम अथवा कहाँबाट
आएको” । यो प्रश्नको उत्तरले नै हामीलाई अन्र्तराष्ट्रिय जगतमा हाम्रो आफ्नो स्थान
बनाइदिन्छ । देशको प्रगति र अवस्थाले हाम्रो आफ्नो स्वाभिमानमा स्थापित हुन अहम् भूमिका
खेल्दछ । देशको अवस्थाबाट विरक्तिएर हामी मध्ये सक्नेले देश छाडेर विदेश बसौंला/सरौंला तर कहिलेसम्म ? अनि “ह्वेर आर यु फ्रम”लाई
के गर्ने ?
त्यसैले देशको समृद्धिमा नै हाम्रो भलाई छ चाहे स्वदेशमा रहौं
या विदेशमा, जसका लागि हामीले
आफ्नो राजनैतिक आस्था भन्दा माथि रहेर यसपटक आफ्नो विवेक प्रयोग गरी असल नेतृत्व चयन
गर्नुपरेको छ ।
अन्त्यमा, विज्ञानमा दुई किसिमको गल्ति
हुन्छन् । सहिलाई गलत मान्नु टाइप वान इरर (पहिलो किसिमको गल्ति) हो । केहि राम्रा
खुबी र नियतभएका नेताहरु यसैको शिकार भएका छन् । तर गलतलाई सहि मान्नु टाइप टु इरर
(दोश्रो किसिमको गल्ती) हो जसको परिणाम भयङ्कर हुन सक्छ । सायद अहिलेसम्म हामीबाट भएको
गल्ती पनि यहि नै हो । हामीले गलत र खराब आचरणका नेतालाई नै पटक पटक विजयी गरायौं ।
अब टाइप टु इरर नहोस् भनेर हामीले सोच्ने बेला आएकोछ । असल नेतृत्व चयन गरौं र निरन्तर
खबरदारी गरिरहौं अनि समृद्धिको श्रेय पनि आफैं नै लिऔं ।
Comments
Post a Comment