रसायनिक
मलको विकल्प मानवमुत्र
बाली उत्पादनको
लागि मल, जल, र बीउ लगायतका
महत्वपूर्ण उत्पादन सामग्रीहरुको उचित र उच्चतम प्रयोगबाट कृषिको व्यवसायिकरण
हुन्छ । यद्यपि, एउटै जग्गामा लगातार खेती गरिरहँदा माटोको
उर्वराशक्ति क्षय हुँदै गईरहेको छ । यस सन्दर्भमा माटोको उर्बराशक्ति कायम राख्न
मलको प्रयोग गर्नु पर्दछ । तर कृषकस्तरमा प्रांगारिक मल, गोठेमल तथा हरियो
मलको पर्याप्त उत्पादन हुन नसक्दा रसायनिक मलमा निर्भर हुनु परेको छ । साथै, रसायनिक मलमा
बिरुवालाई चाहिने मुख्य खाद्यतत्वहरु तुलनात्मक रुपमा धेरै र विरुवाहरुले तुरुन्त
लिनसक्ने भएकोले कृषकहरु रसायनिक मल तर्फ बढि आकर्षित छन् । हाम्रो देशमा रसायनिक
मल उत्पादन गर्ने कारखाना नभएको हुँदा रसायनिक मल अनुदानमा बर्षेनी अरबौं रुपैंयाँ
खर्च भइरहेको छ । (हेर्नुहोस् तालिका १) ।
तालिका १
विभिन्न आर्थिक बर्षमा अनुदानमा रसायनिक मल वितरण गर्नको लागि खर्च भएको बजेट
क्र.सं.
|
आ.ब.
|
रसायनिक मलमा अनुदानको लागि अनुदानको खर्च भएको बजेट (रु. हजारमा)
|
१
|
2065/66
|
366812
|
२
|
2066/67
|
1370518
|
३
|
2067/68
|
2468626
|
४
|
2068/69
|
3147851
|
५
|
2069/70
|
5171837
|
६
|
2070/71
|
5709800*
|
*विनियोजित (श्रोतः कृषि विकास मन्त्रालय, २०७०)
लगातार
रसायनिक मलखादको प्रयोग गर्दा मानव स्वास्थ्य तथा माटोको उर्वराशक्तिमा पनि
नकारात्मक असर पर्ने तथ्य विभिन्न अनुसन्धानहरुबाट पुष्टी भइसकेको परिस्थितिमा
रसायनिक मलको विकल्पको रुपमा मानवमुत्रको अवधारणाको उत्तम देखिन्छ । मानवमुत्र संकलन सम्बन्धी
विभिन्न समयमा विभिन्न संस्थाहरु सकृय देखिए पनि यसले निरन्तरता र व्यापकता पाउन
सकेको छैन । त्यसैले राज्यले यस तर्फ खास ध्यान दिनुपर्ने देखिन्छ ।
मानवमुत्र
सर्वव्यापी र निःशुल्क पाइने पदार्थ हो । मानवमुत्र संकलन र प्रयोग विधि कम खर्चिलो
हुनुको साथै मानवमुत्रको प्रयोग गरी खेती गर्दा बालीको उत्पादन र उत्पादकत्वमा
उल्लेख्य भिन्नता नआएको नेपाल कृषि अनुसन्धान परिषदले सन् २००४ देखि २००६ सम्म
गरेको एक अनुसन्धानको नतिजाले बताउँछ । साथै मानवमुत्रको प्रयोगले रसायनिक मलमा
हुने खर्च जोगिने भएकोले उत्पादनको लागि लाग्ने खर्च कटौति भई कृषकहरु लाभान्वित
हुन्छनु ।
मानवमुत्रमा
खासगरी विरुवालाई आवश्यक पर्ने मुख्य खाद्यतत्व नाइट्रोजन प्रसस्त मात्रामा पाइन्छ
र यसको साथै अन्य खाद्य तत्वहरु पनि पाइन्छ (तालिका २ मा हेर्नुहोस् ) । विरुवालाई
चाहिने खाद्यतत्वहरु सजिलै लिन सकिने रुपमा पाइने तथा नाइट्रोजनको परिमाण धेरै
हुने भएकोले मानवमुत्रलाई युरीया मलसँग तुलना पनि गरिन्छ ।
तालिका २
मानवमुत्रमा खाद्यतत्वको परिमाण
खाद्यतत्व
|
प्रतिलिटर
|
प्रतिव्यक्ति प्रतिबर्ष
|
नाईट्रोजन
|
७ ग्राम
|
३.५ किलोग्राम
|
फस्फोरस
|
१ ग्राम
|
०.५ किलोग्राम
|
पोटासियम
|
२ ग्राम
|
१.० किलोग्राम
|
सल्फर
|
१ ग्राम
|
0.५ किलोग्राम
|
म्याग्नेसियम
|
८० मिलि ग्राम
|
४० ग्राम
|
क्याल्सियम
|
२०० मिलि ग्राम
|
१०० ग्राम
|
(श्रोतः होहेन्हेम विश्वविद्यालय, घाना)
एक बयस्क
मानिसले प्रतिबर्ष औसतमा ५०० लिटर मानवमुत्र निसृत गर्ने परिमाणलाई आधार मान्दा
करीब ६ किलो विरुवाको खाद्यतत्व तयार हुने विभिन्न अध्ययनमा उल्लेख छ । यसमध्ये
नाइट्रोजन मात्रै ३.५ किलो निसृत हुन्छ, जुन करीब ८ किलो युरीया मल बराबर हो ।
यस
सन्दर्भमा, नेपालको
जनसंख्याको ५० प्रतिशत जनताको मात्रै मुत्र संकलन गर्न सक्ने हो भने बार्षिक १ लाख
२० हजार मेट्रिक टन युरीया, ११
हजार मेट्रिक टन ट्रिपल सुपर फस्फेट र २३ हजार मेट्रिक टन पोटासबाट उत्पादन हुने
बराबरको खाद्यतत्व उत्पादन भई नेपालमा रसायनिक मलको आवश्यकता परिपूर्ति गरी अरबौं
रकम विदेशिनबाट बचाउन सकिन्छ ।
मानवमुत्र
सामान्यतः किटाणु रहित हुन्छ तर मानवमलको सम्पर्कमा आएमा रोगजन्य किटाणु फैलिन
सक्ने भएकोले यसको छुट्टै संकलन गर्नु पर्दछ । नेपाल केन्द्रिय बागवानी केन्द्रका
माटो बैज्ञानिक जनार्दन खड्काका अनुसार संकलित मानवमुत्रलाई ड्रम वा अन्य बन्द
गर्न सकिने भाँडोमा राख्नुपर्दछ र यसलाई दुई हप्तादेखि एक महिनासम्म भण्डारण तथा
सामान्य प्रशोधन गरेर मात्र खेतबारीमा प्रयोग गर्नु पर्दछ ।
मानवमुत्रमा
लवण पनि हुने भएकोले ड्रममा भण्डारण गरिएको मानवमुत्रलाई बेला बेलामा चलाइरहनु
पर्दछ । यसो गर्दा पिंधमा लवणहरु जम्मा हुन पाउँदैन । लगातार लामो समयसम्म प्रयोग
गरिरहँदा मानवमुत्रमा हुने लवणहरुले गर्दा माटोको उर्वराशक्तिमा आउन सक्ने भएकोले
समस्या समाधानको लागि यसलाई कम्पोष्ट मल वा फस्फोरस र पोटासयुक्त मलसँग मिसाएर
छर्नु पर्दछ ।
संकलित
मानवमुत्रको अम्लियपना उच्च हुने भएकोले मानवमुत्र लाई सिधै विरुवाको पात काण्ड
तथा जरामा प्रयोग गर्नु हुदैन, यसलाई
माटोमा प्रयोग गर्नु पर्दछ । साथै, कलिलो बेर्नाको नर्सरीमा पनि यसलाई प्रयोग गर्नु
हुदैन । बालीको अवस्था र आवश्यकता हेरी एक भाग प्रसोधित मानवमुत्रलाई एक देखि तीन
भाग पानीसँग मिसाएर प्रयोग गर्न सकिन्छ ।
मानवमुत्रलाई
विरुवाको वरिपरि गोलाकारमा एक इन्च जति खनेर मानवमुत्र प्रयोग गरी माटोले छोप्दा
मानवमुत्रमा रहेको नाइट्रोजन उडेर जानबाट रोक्छ र दुर्गन्ध फैलन पनि दिदैन ।
शौचालय
बाहेक जथाभावी पिसाब गर्ने प्रवृत्तिले गर्दा दुर्गन्ध तथा रोगव्याधको समस्या
आइरहने सन्दर्भमा व्यवस्थित मुत्रसंकलन गरी वातावरणीय दुर्गन्ध कम हुनुका साथै
फोहर र रोग व्यवस्थापनको खर्च बचाउन सकिन्छ ।
अन्त्यमा, स्वदेशमा रसायनिक मल
उत्पादन गर्ने कारखाना नहुँदा भएको हुँदा विगत ६ बर्षमा अनुदानको प्रयोजनको लागि
मात्रै १८ अरब भन्दा बढि रकम खर्च भएको छ भने यस भन्दा धेरै रकम मल आयात गर्दा
विदेशिएको छ । विकल्प नखोजिएमा आयात हुने परिमाण र खर्च कम नहुने भएकोले रसायनिक
मलको विकल्पको रुपमा मानवमुत्रको प्रयोगलाई राज्यको नीतिगत प्राथमिकतामा राखी
देशको आयात खर्च कटौती गर्दै व्यापार घाटा कम गर्न जरुरी भएको छ ।
Above mentioned views are original post of the following article as published in Nagarik.
Comments
Post a Comment