घर फर्क युवाहरु (देशले तिमीहरुलाई खोजेको छ)ः सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस हरेक बर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने सन्दर्भमा नेपालमा पनि आजकल विभिन्न कार्यक्रमहरु गर्ने प्रचलन बढिरहेको छ । बर्षेनी करिब ५ लाख थप युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्ने अवस्थामा १८ बर्ष देखि ३५ बर्षसम्म युवाहरुको हिस्सा ४० प्रतिशत भन्दा बढि पुगिसकेको छ । उत्पादन क्षेत्रको रुपमा कृषि र उद्योगको बार्षिक औसत वृद्धिदर ३ प्रतिशतभन्दा बढ्न नसकेको र बार्षिक रोजगारी वृद्धिदर पनि ३ प्रतिशत भन्दा कम भएकाले उपरोक्तानुसार सबै युवाहरुले स्वदेशमा नै रोजगारीका अवसरहरु पाउन सकिरहेका छैनन् । जसले गर्दा दैनिक १८०० जना भन्दा बढि युवाहरु रोजगारी र अध्ययन लगायतका बहानामा विदेशिइरहनु परेको छ । गत बर्ष बैशाख १२ तथा २९ गते गएको विनाशकारी भुकम्पबाट झण्डै ९ हजार मानिस तथा लाखौं घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको हुँदा घरको थप आर्थिक भारले गर्दा विदेशिने युवाहरुको संख्या झनै बढेको छ । भुकम्प पछिको पुर्ननिर्माणमा काम गर्ने मजदुर , इन्जीनियर र अन्य विज्ञहरु उपलब्ध हुन सकेको छैन । गाउँ गाउँमा कृष...